दिपेश कुमार शाह
कटहरिया, रौतहट |
रौतहटको कटहरिया बजारमा बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पोषण मेला प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम संरक्षण नेपाल, आईडी नेपाल र केयर नेपालको सहकार्य तथा सम्बन्धित स्वास्थ्य निकायको समन्वयमा आयोजना गरिएको हो।
पोषण मेलाको उद्घाटन कटहरिया नगरपालिकाकी उपमेयर रिता देवी यादवले बिरुवामा पानी हालेर गरेकी थिइन्। उद्घाटन कार्यक्रममा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, किसान तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. १ का अध्यक्ष भुपेन्द्र कुशवाहा, वडा नं. ९ का अध्यक्ष रुपेश यादव लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बालबालिकाको पोषण सुधारका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

मेलामा स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खाद्यवस्तुको प्रदर्शनी गरिनुका साथै बालबालिका तथा अभिभावकहरूलाई स्वस्थ जीवनशैली, सन्तुलित आहार र व्यक्तिगत सरसफाइका विषयमा जानकारी प्रदान गरिएको थियो। प्रदर्शनीमा अण्डा, मुङ दाल, घ्यु, आयोडिनयुक्त नुन, हरियो सागसब्जी तथा अन्य पोषणयुक्त खाद्य सामग्रीहरू राखी तिनको महत्वबारे जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी अभिभावकहरूलाई बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पोषण, नियमित स्वास्थ्य परीक्षण, सफा खानेपानीको प्रयोग, हात धुने बानी तथा व्यक्तिगत सरसफाइका उपायबारे स्वास्थ्यकर्मीहरूले प्रशिक्षण दिएका थिए। बालबालिकामा बढ्दो कुपोषण, रक्तअल्पता तथा संक्रमणजन्य रोग न्यूनीकरणका लागि पोषणयुक्त आहार अपरिहार्य रहेकोमा वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा संरक्षण नेपालका प्रतिनिधि रेखा शाह, धर्मेन्द्र कुशवाहा तथा कर्मचारी अजय कुमार शाह रौनियारको विशेष सहभागिता रहेको थियो। रेखा शाहले बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूको स्वास्थ्य, पोषण र शिक्षामा लगानी गर्नु सम्पूर्ण समाजको साझा दायित्व भएको बताइन्। उनले परिवारभित्र पोषणयुक्त भोजन र सरसफाइको वातावरण सुनिश्चित गर्न अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन्।
त्यस्तै धर्मेन्द्र कुशवाहाले स्थानीय तह, स्वास्थ्य संस्था तथा गैरसरकारी संस्थाबीचको सहकार्यबाट समुदायमा सकारात्मक परिवर्तन सम्भव रहेको बताए। उनले बालबालिकाको पोषण सुधारका लागि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागी अभिभावकहरूले पोषण तथा सरसफाइसम्बन्धी व्यवहारिक जानकारी प्राप्त भएको भन्दै यस्ता कार्यक्रमले बालबालिकाको स्वास्थ्यप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको प्रतिक्रिया दिएका थिए। आर्थिक रूपमा कमजोर परिवारका लागि यस्ता कार्यक्रमले राहत र सचेतना दुवै प्रदान गरेको उनीहरूको भनाइ थियो।
स्वास्थ्यकर्मीहरूले वितरण गरिएका सामग्रीको सही प्रयोग गर्न आग्रह गर्दै बालबालिकालाई नियमित रूपमा अण्डा, दाल, सागसब्जी तथा अन्य पोषणयुक्त खानेकुरा खुवाउन सुझाव दिएका थिए। साथै साबुनपानीले हात धुने, नियमित दाँत माझ्ने र नङ काट्ने जस्ता सामान्य सरसफाइका अभ्यासले धेरै रोगबाट बच्न सकिने जानकारी पनि दिएका थिए।
कार्यक्रमको समापनमा सहभागीहरूले संरक्षण नेपाल, आईडी नेपाल, केयर नेपाल तथा स्वास्थ्यकर्मीहरूको टोलीप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका थिए। वक्ताहरूले समुदायको सक्रिय सहभागिता, अभिभावकको जिम्मेवारी र सम्बन्धित निकायहरूको समन्वयबाट मात्र स्वस्थ, सक्षम र कुपोषणमुक्त नयाँ पुस्ता निर्माण गर्न सकिनेमा जोड दिएका थिए।








