हरिकिशोर शर्मा
जिराभवानी (पर्सा), जेठ २३ — पर्साको जिराभवानी गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमसहित ३९ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैयाँ बराबरको बजेट पारित गरेको छ।
जिराभवानी गाउँपालिका वडा नं. ३ स्थित कृषि भवनको सभा हलमा आयोजित गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष अनोज चौधरीले गर्नुभएको थियो। गाउँसभामा उपाध्यक्ष रेखा चौधरीको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरिले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले राजनीतिक कारणले गाउँसभा केही ढिला हुन पुगेको उल्लेख गर्दै त्यसले विकास निर्माणका काम र जनसेवामा असर परेको स्वीकार गर्नुभयो। अब गाउँपालिकाका विकासका काम तथा नागरिक सेवा छिटो, छरितो र प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत गिरिले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने र गाउँपालिकालाई स्वच्छ, समृद्ध तथा नमुना स्थानीय तहका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि, विभिन्न वडाका अध्यक्षहरू रामशरण खवास थारु, महादेव महतो थारु, सुरुज राय थारु, राजेश्वर दास थारु, वडा नं. ५ का वडा अध्यक्ष दारा सिंह थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, ऋषि हजरा, गाउँसभा सदस्यहरू, शिक्षा शाखा प्रमुख शिवराज फियावल, नेपाल शिक्षक महासंघका गाउँपालिका अध्यक्ष कृपा चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, इन्जिनियर रविभूषण पटेल, योजना शाखाका सरोज दास गुप्ता, स्वास्थ्य शाखा प्रमुख अजयकुमार दास थारु, पत्रकार, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण सामाजिक शाखा प्रमुख जितेन्द्र मिश्रले गर्नुभएको थियो।








