अभिलाष गुप्ता
वीरगञ्ज, २२ जेठ
विश्व वातावरण दिवस २०८३ को अवसरमा साउथ जोन सेकेण्ड्री स्कूलले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
दिवसको अवसरमा विद्यालयको प्रि–प्राइमरी तहका विद्यार्थीहरूले उत्साहपूर्वक ‘ग्रीन डे’ मनाएका छन्। कार्यक्रममा विद्यार्थीहरू हरियो पोशाकमा सहभागी भई वातावरण संरक्षण, हरियालीको महत्व तथा स्वच्छ वातावरणसम्बन्धी सन्देशमूलक गतिविधिमा सहभागी भएका थिए। साना बालबालिकाहरूले वातावरण जोगाउने सन्देश दिने विभिन्न प्रस्तुति तथा रचनात्मक कार्यक्रममार्फत उपस्थित सबैलाई सकारात्मक सन्देश दिएका थिए।
त्यसैगरी विश्व वातावरण दिवसकै अवसरमा विद्यालयको जुनियर रेडक्रस सर्कल को आयोजनामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको छ। शिक्षक नायक अर्जुन बन्ठा चौधरीको नेतृत्वमा विद्यालय परिसरभित्र विभिन्न प्रजातिका विरुवाहरू रोपिएका हुन्।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा हरित वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारीबोध, प्रकृतिप्रेम तथा संरक्षणको भावना विकास गर्न सहयोग पुग्ने जनाएको छ। विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यसहित विद्यालयले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।







