अभिलाष गुप्ता
वीरगञ्ज, १८ जेठ
वीरगञ्जमा विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले “प्रथम वीरगञ्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” आजदेखि सुरु भएको छ। वीरगञ्ज यूथ एकेडेमीको आयोजनामा तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह–आयोजनामा प्रतियोगिताको उद्घाटन गरिएको हो।
प्रतियोगिताको उद्घाटन समारोह प्याब्सनका प्राज्ञिक सल्लाहकार एवं मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

त्यसैगरी कार्यक्रममा प्याब्सन नगर सल्लाहकार मार्टिन मोक्तान,प्याब्सन पर्साका बरिस्ठ उपाध्यक्ष सुशिला साह, अमित आलोक,प्रबिन चौधरी, दिनानाथ रौनियार, पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, मानवसेवा आश्रम वीरगञ्जका देवेश गुप्ता, राजकुमार लामा, सन्तोष खनाल तथा आदर्शनगर बिटका प्रमुख दीपेन्द्र टमटा लगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिता जेठ १८ गतेदेखि २५ गतेसम्म वीरगञ्जको आदर्शनगर फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयहरूको सहभागिता रहेको छ। उद्घाटन खेल मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल र सफल विद्यालयबीच सम्पन्न भएको थियो भने मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल २ गोलले जित हासिल गरेको थियोे।
फाइनल खेल जेठ २५ गते आयोजना गरिनेछ।
प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले विशेष सहयोगको घोषणा गरेका छन्। उनले प्रतियोगिताभर हुने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई दैनिक नगद १ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन्।
उपाध्यायले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान, संरक्षण र प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
आयोजक वीरगञ्ज यूथ एकेडेमीका अनुसार वीरगञ्जमा फुटबल खेलको लोकप्रियता कायम राख्दै नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय फुटबल गतिविधिलाई थप सक्रिय र व्यवस्थित बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।









