वीरगंज/ ०९ जेष्ठ
वीरगंज महानगरपालिका–७ गहवा स्थित रेलरोड क्षेत्रमा रहेको अंशिका मेडिकलमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब ३ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए।
न्यू टाइगर क्लब गहवा को आयोजनामा सम्पन्न शिविरमा वीरगंज तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो। चिकित्सकहरूमा डा. विनय कुमार साह, डा. बबली मिश्रा पाण्डे, डा. गौरव कुमार गुप्ता तथा डा. राजु कुमार गुप्ता लगायतले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा सुगर, प्रेसर, थाइराइड, छाती तथा पेटसम्बन्धी समस्या, स्त्रीरोग, बालरोग तथा हाडजोर्नीसम्बन्धी बिरामीहरूले विशेष लाभ लिएका थिए। साथै रगत तथा पिसाब परीक्षणमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष रबी गुप्ता ले जानकारी दिएका छन्।
स्थानीयवासीहरूको उत्साहजनक सहभागिताका कारण शिविर व्यवस्थित र प्रभावकारी बनेको आयोजकले जनाएको छ। गाउँ–टोलमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरप्रति स्थानीयहरूले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।
शिविर सञ्चालनमा वडा नं. ६, ७, ८ र १६ का वडा कार्यालयहरूको सहयोग रहेको थियो। वीरगंज क्षेत्रमा यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूले स्थानीय नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको स्थानीयवासीहरूको भनाइ छ।









