वीरगञ्ज , वैशाख ८
पर्सा–३ का सांसद रामाकान्त चौरसिया हालै भ्रष्टाचार मुद्दाका प्रतिवादी डा. सुरेन्द्र प्रसाद चौरसिया सँग सार्वजनिक कार्यक्रममा देखिएपछि विवादमा तानिएका छन्। वैशाख ५ गते काठमाडौंमा चौरसिया समाजले आयोजना गरेको कार्यक्रममा उनीहरू सँगै देखिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी ले ‘शून्य भ्रष्टाचार’ को नारा अघि सारेको अवस्थामा आफ्ना सांसद भ्रष्टाचार आरोपित व्यक्तिसँग देखिनु समाजमा मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ। यस घटनाले पार्टीको नीतिगत प्रतिबद्धतामाथि समेत प्रश्न उठाएको छ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता र मिलेमतोमार्फत भ्रष्टाचार गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. चौरसियासहित १४ जनाविरुद्ध विशेष अदालत मा मुद्दा दायर गरिसकेको छ।
अख्तियारका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गत ‘प्रोक्युरमेन्ट अफ म्यामोग्राफी मेसिन’ खरिद प्रक्रियामा म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. सँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका चरणमा भ्रष्टाचार भएको देखिएको छ। विभागको ठेक्का नं. RFB No. DOHS/G/NCB-18/IDA/2080-81 अन्तर्गत १२ करोड ७५ लाख रुपैयाँ मूल्यको लागत अनुमान तयार गर्दा नै ठेकेदार कम्पनीहरूसँग मिलेमतो भएको खुलेको थियो। यसमा स्पकसमेत लक गरिएको थियो।
सांसद र प्रतिवादीबीचको सार्वजनिक उपस्थितिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ भने सरोकारवालाहरूले यस विषयमा स्पष्टिकरणको माग गर्न थालेका छन्।







