मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

 

हरिकिशोर शर्मा / जिराभवानी पर्सा ।

पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा पनि डिएपी र यूरिया मलको आपूर्ति नहुँदा किसानहरू मारमा परेका हुन्।

जिराभवानी गाउँपालिका–३ सहजानपुर किसान अजित राय थारुले नेपालमा मल नपाएपछि भारतीय बजारबाट प्रति बोरा (५० केजी) डिएपी मल करिब ४ हजार रुपैयाँमा खरिद गर्नुपरेको बताए। त्यस्तै, यूरिया मल प्रति केजी ४० रुपैयाँसम्म तिर्नुपरेको अर्का किसान रप्रेम दास थारुले जानकारी दिए।

सामान्य अवस्थामा स्थानीय कृषि सहकारी संस्थामार्फत डिएपी करिब ५० रुपैयाँ र यूरिया २० रुपैयाँ प्रति केजीमा पाइने भए पनि अहिले संस्थाहरूमा मल अभाव हुँदा किसानहरू महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन्। “संस्थामा मल छैन, त्यसैले महँगोमा किन्नुपरेको छ,” किसान राउतले गुनासो गरे।

यसअघि नेपाली बजारमा मल अभाव हुँदा किसानहरूले भारतीय बजारबाट ल्याएर व्यवस्थापन गर्ने गरेका थिए। तर हाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नीति कडाइका साथ लागू गरेपछि सीमापारबाट मल ल्याउनसमेत कठिन भएको किसानहरूको भनाइ छ।

ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगञ्जका केही वडाहरूमा चैते धान रोपाइँ सुरु भएको दुई साताभन्दा बढी भइसक्दा पनि मल अभाव कायमै रहेको छ।

धान रोपाइँका लागि अत्यावश्यक डिएपी, पोटास र यूरिया मल यस क्षेत्रमा रहेका अधिकांश कृषि सहकारी संस्थाहरूमा उपलब्ध छैनन्। गादी साना किसान कृषि सहकारी संस्था, रंगपुरका सञ्चालक हरिनारायण चौधरीका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले करिब २० दिनअघि ७५ बोरा यूरिया मात्र उपलब्ध गराएको थियो। “डिएपी र थप मल कहिले आउँछ भन्ने निश्चित छैन,” उनले बताए।

किसानहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै एकातिर कृषि उत्पादन बढाउन आग्रह गर्ने तर अर्कोतिर आवश्यक मल उपलब्ध नगराउने, सीमापारबाट ल्याउन कडाइ गर्ने र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने नीतिले आफूहरू थप समस्यामा परेको आरोप लगाएका छन्। साथै, उत्पादन गरेको अन्नको उचित मूल्यसमेत नपाउँदा किसानहरूको अवस्था झन् दयनीय बन्दै गएको उनीहरूको भनाइ छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित