साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

 

ताराचन्द्र देवकोटा/काठमाडौं

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, चितवन २२ औं स्थापना दिवस मनाइरहँदा सातपटक उत्कृष्ट युनिटका रुपमा पुरस्कृत भइसकेको छ । उक्त शिक्षालयले विपद्अघि, विपद्को समय र विपद्पछिको अवस्थालाई समेत मध्यनजर गरेर आधारभूत र उन्नत तालिममार्फत् उत्कृष्ट कार्य गर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।

यस हिसाबले हेर्दा साधन-स्रोतको पर्याप्तताविनै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, चितवनले नेपालजस्तो हिमाल, पहाड र तराईको भू-बनौट भएको प्रकोप जोखिमको दृष्टिकोणले सम्वेदनशील मुलुकमा जसरी उत्कृष्ट र स्मार्ट कार्य गरेर विपद् उद्धारमा प्रशंसा कमाएको छ, यसलाई साधन-स्रोत सम्पन्न तुल्याएर भविष्यमा आइपर्नसक्ने बहुप्रकोपमा उद्धारका लागि अझ सशक्तरुपमा तयारी अवस्थामा राख्न राज्य थप गम्भीर बन्नुपर्ने तर्क आइरहेको छ ।

२०५८ सालमा सशस्त्र प्रहरी बल, नेपालको वेश क्याम्पको रुपमा स्थापना भएकोमा २०६७ साल वैशाख १९ गतेदेखि पहिलोपटक विपद् व्यवस्थापनसम्बन्धी तालिम संचालन गरेको र २०६८ साल मंसिर २२ गते नेपाल सरकारको निर्णयले विपद् व्यवस्थापन तालिम केन्द्रको रुपमा स्थापना हुनुका साथै २०७५ साल असार १५ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारको नामाकरण भई कार्य गर्दै आइरहेको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले २०६८ सालदेखि हालसम्म सडक दूर्घटना, पहिरो, नदीजन्य, आगलागीलगायतका घटनामा परेका १ हजार ७ जनाको जीवितै उद्धार तथा ४ सय २१ जनाको शव फेला पारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार चितवनको २२ औं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति ‘हामीले दिने सेवा नै धर्म भएको’ बताउँदै सकारात्म सोच र उच्च मनोबलका साथ सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपदमा परेका नागरिकहरुको उद्धारमा खटिनुपूर्व आफू सुरक्षित रही खटिनसमेत निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त कार्यादेशहरुमध्ये विपद् व्यवस्थापनजस्तो महत्वपूर्ण जिम्मेवारीलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ स्थापना गरिएको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारले आफ्नो छोटो समयमा नै राष्ट्रको अग्रणी एवं विशिष्ट शिक्षालयको रुपमा स्थापित भएको चर्चा गर्दै विपद् व्यवस्थापन तथा संकटमा परेका नागरिकको उद्धार कार्यमा खटिई उल्लेखनीय भूमिका निर्वाह गरेको समेत बताए । उनले पृथ्वी राजमार्ग तथा आसपासका क्षेत्रहरुमा मात्र नभई देशका दूर्गम तथा चुनौतीपूर्ण क्षेत्रहरुमा समेत तत्काल परिचालन भई जीवन रक्षा तथा मानवीय सहयोगमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको, विपद् व्यवस्थापनलाई सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न महत्वपूर्ण पहलहरु समेत अघि बढाइएको जानकारी दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालले हालसम्म ९ वटा विपद् व्यवस्थापन वेश स्थापना गरिसकेको र ६ वटा विपद् व्यवस्थापन वेश स्थापनाको प्रक्रियामा रहेको बताउँदै २०६३ सालदेखि विभिन्न प्रकृतिका विपद् घटनाहरुमा खटिई १५ हजार ५ सय ४१ जनाको सकुशल उद्धार, ८८ हजार ५ सयजना घाइतेको उद्धार र २५ हजार ७ सय ७८ जनाको शव फेला पारेको समेत जानकारी दिए । उनले वर्तमान गृहमन्त्रीले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा विपद् व्यवस्थापन तथा विपद् प्रतिकार्य तालिम गरिसकेका कारण सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनमा परिचालन हुँदा थप सहयोग र प्रेरणा मिल्नेसमेत उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले शिक्षालयमा कार्यरत प्रशिक्षक, कर्मचारी र सम्पूर्ण राष्ट्रसेवकहरुको अथक परिश्रम र समर्पणले संगठन आज यस उचाइमा पुग्न सफल भएको चर्चा गर्दै भोलिका दिनहरुमा समेत सकारात्मक सोच र उच्च मनोबलका साथ अगाडि बढी संगठनको गरिमामय तथा राष्ट्र र जनताको अपेक्षालाई सशक्तरुपमा पूरा गर्नतर्फ लाग्नुपर्ने बताए । सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार २२ औं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले शिक्षालयमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, स्थापना दिवसको अवसरमा संचालन गरिएका विभिन्न खेलकूद प्रतियोगिताका खेलाडी तथा टिम र शिक्षालयलाई सहयोग पुर्याउने विभिन्न संघ-संस्थाका महानुभावहरुलाई पुरस्कार, कदरपत्र तथा प्रशंसापत्रसमेत प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, चितवनको २२ औं स्थापना दिवसका अवसरमा शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेशबावु थापा मगरले देशको शान्ति-सुरक्षा, अमन-चयन कार्यमा सशस्त्र प्रहरी बल, नेपालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्राकृतिक प्रकोप, विपद् जोखिम र आगलागीजस्ता घटनाहरुमा परेका नागरिकको उद्धारमा कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरु अग्रसर हुँदै आएको उल्लेख गरे । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशका धेरैजसो भू-भाग विपद्को उच्च जोखिममा रहेको हुँदा न्यून स्रोत-साधनको उच्चतम प्रयोग गर्दै विपद् व्यवस्थापनजस्तो जोखिम कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको काम-कर्तव्य प्रशंसनीय रहेको भन्दै थप साधन-स्रोत सम्पन्न भए विपद्का घटनामा अझ बढी उद्धार कार्यमा सहयोग पुग्ने बताए ।

स्मरणीय छ, अधिकांश सरोकारवालाहरुले सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनमा उल्लेखनीय र महत्वपूर्ण योगदान पुर्याएको, तर साधन-स्रोतको अभाव भएकाले थप साधन-स्रोत सम्पन्न बनाउन राज्य थप गम्भीरतापूर्वक लाग्नुपर्ने बताउने गरेका छन् ।

(तस्बीरहरु सशस्त्र प्रहरी बल, नेपाल गतिविधि सम्प्रेशण कक्षबाट प्रप्त ।)

 

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित