पर्सामा डिजिटल शौचालय सेवा सुरु, प्रहरीका लागि आधुनिक स्नान भवन उद्घाटन

 

वीरगंज, २३ चैत

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन गरिएको छ। “स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त अत्याधुनिक शौचालय सेवा सुरु गरिएको हो।

सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रहरी उपरीक्षक सुदीप राज पाठकको प्रमुख आतिथ्यतामा उक्त भवन उद्घाटन गरिएको हो। कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक पाठकले यस्तो आधुनिक पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भवन निर्माणमा सहयोग पुर्‍याउने रुङ्गटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरप्रति विशेष आभार व्यक्त गरे।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा, लायन्स क्लब आदर्शनगरका प्रकाश बाहेती, जिल्ला प्रहरी कार्यालय पर्साका हरि बहादुर र राजु कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदी, छपकैया सामुदायिक प्रहरीका अध्यक्ष गयासुदिन ठकुराई, आमा नेपाल फाउन्डेसनका अध्यक्ष प्रबिता मान्धर, युवा नेता सुधिर पटेल, लायन्स क्लबका प्रिया सिंह लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण अत्यन्त सराहनीय र आवश्यक पहल भएको बताए। उनले स्वच्छता र स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै डिजिटल सुविधा युक्त स्नान तथा शौचालय भवनले प्रहरी कर्मचारीहरूको दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गरे।

नव–निर्मित उक्त भवनले प्रहरी कर्मचारीहरूलाई स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अझ मजबुत बनाउन यस्ता योजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित