अभिलाष गुप्ता/२२ चैत
भारतको बिहार राज्यको राजधानी पटना स्थित प्रतिष्ठित चाणक्य होटलमा आयोजित ‘अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु एवं तन्त्र सम्मेलन–२०२६’ मा नेपालका प्रख्यात ज्योतिषविद् तथा विश्व ज्योतिष महासंघ (एशिया) का उपाध्यक्ष डा. पुरुषोत्तम दुबेलाई ‘वराहमिहिर अवार्ड’ (गोल्ड मेडल) बाट सम्मानित गरिएको छ।
ज्योतिष शास्त्रको क्षेत्रमा विगत दुई दशकदेखि उहाँले पुर्याउनुभएको महत्वपूर्ण अन्तर्राष्ट्रिय योगदान तथा विश्वभरका विद्वानहरूलाई एकजुट बनाउन खेलेको नेतृत्वदायी भूमिकाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
अप्रिल ४ देखि ६ सम्म सञ्चालन भएको तीन दिने भव्य सम्मेलनका अवसरमा डा. दुबेलाई संस्कृत विहार बोर्डका अध्यक्ष मृत्युञ्जय झा र भारत सरकारका पूर्व केन्द्रीय मन्त्री संजय पासवानले संयुक्त रूपमा स्वर्ण पदक र प्रशंसा पत्र प्रदान गरेका थिए। कार्यक्रममा भारत र नेपालका विभिन्न क्षेत्रका वरिष्ठ विद्वानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सन् २००६ देखि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहँदै आएका डा. दुबेले दुई दशकको निरन्तर साधनाबाट ज्योतिष क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन्। सम्मेलनका जूरी तथा विशेषज्ञहरूले दक्षिण एशिया समन्वय समितिमार्फत ज्योतिषीय विद्वानहरूबीच सेतुको भूमिका निर्वाह गरेकोमा उनको उच्च प्रशंसा गरेका थिए।
डा. दुबेले यसअघि ‘ज्योतिष सम्राट’, ‘ज्योतिष महर्षि’, ‘ज्योतिष दिवाकर’, ‘ग्लोबल ज्योतिष श्रेष्ठम’, ‘ज्योतिष नवरत्न’ तथा ‘ज्योतिष सागर’ जस्ता विभिन्न अन्तर्राष्ट्रिय उपाधिहरू समेत प्राप्त गरिसकेका छन्।
यस सम्मेलनको सफल आयोजनामा पटनाका आचार्य अशोक मिश्रा तथा नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका विद्वान लक्ष्मण पन्थीको विशेष समन्वय रहेको थियो। डा. दुबेलाई प्राप्त यो सम्मानले अन्तर्राष्ट्रिय स्तरमा नेपालको ज्योतिषीय प्रतिष्ठा र प्राज्ञिक क्षमतालाई थप उचाइमा पुर्याएको विश्वास गरिएको छ।
आफ्नो सफलतापछि प्रतिक्रिया दिँदै डा. दुबेले यो उपलब्धि आफ्ना गुरु स्वर्गीय टीकाराम भूशाल तथा विश्व ज्योतिष महासंघका संस्थापक डा. लोकराज पौडेलको आशीर्वादको परिणाम भएको बताएका छन्। साथै, विश्व ज्योतिष महासंघको एशिया उपाध्यक्षको हैसियतमा उनले दक्षिण एशियाली मुलुकहरूमा ज्योतिष शास्त्रको अध्ययन, अनुसन्धान र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएका छ्न।








