चैत २०, काठमाडौं।
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ। निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जनाएको छ।
नयाँ समायोजन अनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि यी स्थानमा पेट्रोलको मूल्य १८७ रुपैयाँ थियो। त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य पनि बढेर प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ, जुन यसअघि १६७ रुपैयाँ रहेको थियो।

पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा कायम भएको छ। यसअघि यी स्थानमा पेट्रोल १८४ रुपैयाँ प्रतिलिटर थियो। त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य १७९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ, जुन यसअघि १६४ रुपैयाँ ५० पैसा थियो।
यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर २०१ रुपैयाँ पुगेको छ। यसअघि यहाँ पेट्रोल १८६ रुपैयाँ प्रतिलिटर रहेको थियो। डिजेल तथा मट्टीतेलको मूल्य पनि बढेर १८१ रुपैयाँ प्रतिलिटर पुगेको छ, जुन यसअघि १६६ रुपैयाँ थियो।
नेपाल आयल निगमका अनुसार मूल्य समायोजन गरिए पनि आगामी १५ दिनमा निगमलाई करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।








