हनुमान जन्मोत्सवमा प्राचीन महावीर मन्दिरमा सामूहिक महाआरती हुने

 

अभिलाष गुप्ता

वीरगंज, १६ चैत

 

वीरगंजको मेनरोडस्थित ऐतिहासिक तथा प्राचीन श्री महावीर मन्दिरमा यस वर्ष हनुमान जन्मोत्सव भव्य रूपमा मनाइने भएको छ। आगामी चैत्र १९ गते बिहीबार आयोजना हुने उक्त अवसरमा सामूहिक महाआरतीको विशेष तयारी गरिएको छ।

वीरगंज महानगरपालिका–६ का वडा अध्यक्ष जयप्रकाश शाहको संयोजनमा सञ्चालन हुने कार्यक्रममा साँझ ६ बजे महाआरती सम्पन्न गरिनेछ भने त्यसपछि ७:३० बजे भक्तजनहरूबीच प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका आमन्त्रित सदस्य तथा ज्योतिष एवं वास्तुविद् डा. पुरुषोत्तम दुबेले हनुमान जन्मोत्सवले समाजमा सकारात्मक ऊर्जा, शान्ति र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सम्पूर्ण श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई बजरंगबलीको आशीर्वाद लिन आग्रह गर्नुभएको छ।

कार्यक्रम सफल बनाउन श्री महावीर मन्दिर समिति, साप्ताहिक सुन्दरकाण्ड प्रचार समिति, साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्याम नवयुवक मण्डल, मारवाडी महिला मञ्च र रानी सती ज्योति मण्डललगायत विभिन्न संघसंस्थाहरू सक्रिय रूपमा जुटेका छन्।

भक्तजनको उल्लेख्य सहभागिता हुने अनुमान गर्दै स्थानीय प्रशासनले सुरक्षा तथा व्यवस्थापनका लागि विशेष तयारी गरेको छ। यस कार्यक्रमले वीरगन्जको धार्मिक वातावरणलाई थप सशक्त बनाउँदै सांस्कृतिक पहिचान र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित