राहुल गुप्ता /वीरगंज
देउरवानामा अवस्थित श्री सन्सारी माई मन्दिरको भव्य समारोहका बीच उद्घाटन गरिएको छ। वि.सं. २०८२ साल चैत्र १३ गते, पावन राम नवमीको अवसर पारेर आयोजित उक्त कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शमिला बिष्ट महतोले मन्दिरको विधिवत् उद्घाटन गर्नुभयो। उद्घाटनसँगै परम्परागत जलयात्रा विशेष आकर्षणका रूपमा सम्पन्न गरिएको थियो, जसमा स्थानीय श्रद्धालुहरू बाजागाजा, सांस्कृतिक झाँकी र भक्तिमय वातावरणसहित सहभागिता जनाएका थिए। जलयात्रापछि मन्दिर परिसरमा धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भई मन्त्रोच्चारण तथा पुजाआजाका बीच मूर्तिको विधिवत् स्थापना गरिएको थियो।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले मन्दिरलाई धार्मिक आस्था मात्र नभई सामाजिक र सांस्कृतिक एकताको प्रतीकका रूपमा व्याख्या गर्दै यसको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा सबैको साझा दायित्व रहनेमा जोड दिएका थिए। साथै, यस मन्दिरले आगामी दिनमा धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
उपाध्यक्ष शमिला बिष्ट महतोले मन्दिर उद्घाटन गर्नु गाउँपालिकाका लागि गौरवको विषय भएको बताउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। उहाँले श्री सन्सारी माई मन्दिरले सम्पूर्ण समुदायलाई आस्था, एकता र सहकार्यको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउनुभयो। साथै, मन्दिरको दीगो संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।








