हरिकिशोर शर्मा
वीरगंज, चैत १२
पर्साको वीरगंज महानगरपालिका क्षेत्रमा स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
आज अपराह्न करिब ३:३० बजेको समयमा वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा वीरगञ्जबाट सप्रसनि मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ सदस्यीय चेकपोस्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होन्डा मोटरसाइकल जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक पर्सा जिल्ला, वीरगंज महानगरपालिका–८ गहवा बस्ने अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ ल्याउँदै गरेको स्रोत नखुलेको नगद फेला परेको प्रहरीले जनाएको छ।
बरामद नगद नेपाली १,००० दरका ९०० थान नोट रहेको र कुल रकम ९ लाख रुपैयाँ भएको सशस्त्र प्रहरीले जनाएको छ।उक्त नगदसहित मोटरसाइकल चालक शाहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।








