वीरगंज,पर्सा
वीरगंजस्थित लिटिल एन्जल्स स्कुल, ज्योतिनगरमा आज मुख तथा दाँत स्वास्थ्य सचेतना एवं परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल डेन्टल एसोसिएसनको सहकार्यमा आयोजित “मुख स्वास्थ्य जागरूकता कार्यक्रम” अन्तर्गत कक्षा नर्सरीदेखि ९ सम्मका करिब ४०० बालबालिकाको दाँत तथा मुख परीक्षण गरिएको थियो।
शिविरमा नेपाल डेन्टल एसोसिएसनका कोषाध्यक्ष तथा परिवार डेन्टल क्लिनिकका सञ्चालक डा. विकास पटेलसहित डा. धनञ्जय माली, डा. कविता सिंह, डा. रियाज मूलहक र डा. सोनाली गुप्तालगायतले परीक्षणमा सहयोग गरेका थिए।
परीक्षणका क्रममा अधिकांश बालबालिकामा दाँतमा किरा लाग्ने तथा दाँत सड्ने समस्या देखिएको डा. विकास पटेलले जानकारी दिए। उनका अनुसार मुख स्वास्थ्यप्रति सचेतनाको अभावका कारण यस्ता समस्या बढी देखिने गरेका छन्।
शिविरमा भेटिएका बालबालिकालाई निःशुल्क परामर्श प्रदान गर्नुका साथै उपचारमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले यस्ता स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता पहलहरूले समुदायस्तरमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि हुने विश्वास गरिएको छ।








