हरिकिशोर शर्मा / फागुन २६ जिराभवानी पर्सा ।
पर्साको जगन्नाथपुर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। गएराति जगन्नाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित सरेह बाटोबाट करिब २१२ किलो (दुई क्विन्टल १२ किलो) गाँजा बरामद गरिएको हो।
पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।
तस्करहरूले मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टरमा गाँजा लोड गरी लैजाँदै गर्दा प्रहरीले पटेर्वा सुगौलीदेखि जगन्नाथपुरसम्म पिछा गरेको थियो। अन्ततः रातको करिब ११:३० बजे जगन्नाथपुर–४ मा प्रहरी टोलीलाई देख्नासाथ चालक र तस्करहरू ट्याक्टर छाडेर फरार भएका प्रहरीको दाबी रहेको छ ।
प्रहरीका अनुसार उक्त गाँजा सोनवर्षाका तीन जना कुख्यात कारोबारीहरूको रहेको खुलेको छ। प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल उनीहरूको नाम गोप्य राखेको छ।
“हामीले ट्याक्टर र गाँजा नियन्त्रणमा लिएका छौँ,” प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, “फरार रहेका चालक र तस्करहरूको पहिचान गरी, उनीहरूको खोजी र थप आवश्यक अनुसन्धान तीव्र पारिएको छ।”








