हरिकिशोर शर्मा / फागुन २४ जिराभवानी पर्सा ।
गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरूम राउत गद्दीको राजीनामा माग गर्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्। आइतबार दिउँसो करिब २ बजे जिराभवानी गाउँपालिका अन्तर्गतका विभिन्न गाउँका नागरिकहरूले वन कार्यालय घेराउ गर्नुका साथै गादीमाई साझेदारी वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका हुन्।
सेढवा, बसन्तपुर, काठमाडौंटोल, भवानीपुर, महादेवपट्टी, हरैया र सुपौलीलगायत गाउँका नागरिकहरू आन्दोलनमा सहभागी भएका थिए। स्थानीयका अनुसार दाउरा, घाँस तथा घर लिपपोत गर्न माटो लिन जंगल जाँदा वा पशुचौपायालाई गोठालो लैजाँदा समूहका अध्यक्ष गद्दी तथा कार्यालय सहयोगी सोयालाल साह रौनियार र समिन गद्दीले अभद्र व्यवहार गर्दै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको गुनासो गरेका छन्।
जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाको नेतृत्वमा गरिएको आन्दोलनका क्रममा आन्दोलनकारीहरू कार्यालयमा पुग्दा समूहका सदस्यहरू भने फरार रहेको बताइएको छ।
स्थिति नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी हरैया तथा शस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरका सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए।
कार्यपालिका सदस्य चौरसियाका अनुसार डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमद र गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गद्दीको मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी भइरहेको आरोप लगाइएको छ।
गत फागुन १४ गते बिहीबार राति करिब ७ बजे तस्करीको काठसहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिई प्रहरी चौकी हरैयामा बुझाइएको थियो। प्र २–०३–००१ त ३८०० नम्बरको ट्र्याक्टरमा लोपोन्मुख प्रजातिको सतिसाल र सिसौको काठसहित जिराभवानी गाउँपालिका वडा नं. ३ सहजानपुरबाट नियन्त्रणमा लिइएको जनाइएको छ।
यस सम्बन्धमा बसन्तपुर सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मोवारक अलीले जंगलमा छपान गरिएको काठ नै समितिका अध्यक्ष तथा अन्य पदाधिकारीले अवैध रूपमा कटानी गरी बिक्री गरेको आरोप लगाएका छन्। अध्यक्ष गद्दीमाथि कारबाही गर्न डिभिजन वन कार्यालय पर्सामा पटक–पटक पत्र पठाइए पनि कुनै सुनुवाइ नभएको अधिकृत अलीले बताए।
उता प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने वन सम्बन्धी घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।








