पर्साका चारै क्षेत्रमा रास्वपाको क्लिन स्वीप परिवर्तनको पक्षमा जनमत, पर्सामा ऐतिहासिक सफलता

 

पर्सा — पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन्। मतदाताहरूले परिवर्तन, सुशासन र विकासको अपेक्षासहित रास्वपालाई अभूतपूर्व समर्थन दिँदा जिल्लामा पार्टीले क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हात पारेको हो।

 

सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ बाट हरि पन्त, निर्वाचन क्षेत्र नं. २ बाट सुशील कुमार कानु, निर्वाचन क्षेत्र नं. ३ बाट रामाकान्त चौरसिया तथा निर्वाचन क्षेत्र नं. ४ बाट टेक बहादुर शाक्य भारी मतान्तरका साथ निर्वाचित भएका हुन्।

 

निर्वाचन परिणाम सार्वजनिक भएसँगै जिल्लाभर रास्वपा समर्थक तथा कार्यकर्ताहरूमा उत्साह छाएको छ। विभिन्न स्थानमा समर्थकहरूले खुशीयाली मनाउँदै विजयी उम्मेदवारहरूलाई बधाई दिएका छन्।

 

विजयी उम्मेदवारहरूले पर्सावासी सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै जनताले दिएको विश्वासलाई सम्मान गर्दै काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पर्साको समग्र विकास, पारदर्शिता, सुशासन र जनहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

 

रास्वपाका नेताहरूका अनुसार पर्सामा प्राप्त भएको यो परिणाम केवल निर्वाचन जित मात्र नभई जनताले पुराना राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको पक्षमा दिएको स्पष्ट सन्देश हो। पार्टीले जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर काम गर्ने जनाएको छ।

 

पर्सा जिल्लामा रास्वपाको यो जितलाई स्थानीय राजनीतिक वृत्तमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित