अन्तर्राष्ट्रिय महिला दिवसमा बाल विवाहविरुद्ध जनचेतना अभियान तीव्र

 

 

रक्सौल, २३ फागुन

 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भारतको पूर्वी चम्पारण जिल्लामा बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गरी अभियानलाई तीव्र बनाइएको छ। ‘१०० दिवसीय बाल विवाह मुक्त भारत’ अभियान अन्तर्गत आयोजित कार्यक्रम हरैया गाउँमा सम्पन्न भएको हो।

 

कार्यक्रममा काली सेना भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीको विशेष उपस्थितिमा तथा प्रयास जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला परियोजना समन्वयक आरती कुमारीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सयौँ महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

बाल विवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘बाल विवाह मुक्ति रथ’ अभियानले जिल्लाका विभिन्न गाउँ तथा सहरमा पुगेर समुदायलाई सचेत बनाउने काम गरिरहेको छ। ३० दिनसम्म सञ्चालन गरिएको यात्राका क्रममा रथले करिब २ हजार ४ सय ४५ किलोमिटर दूरी तय गर्दै २ सय १५ वटा गाउँमा पुगेर करिब २ लाख ४५ हजार मानिसलाई अभियानमा सहभागी गराएको आयोजकले जानकारी दिएको छ।

 

भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयको पहलमा सञ्चालन गरिएको १०० दिवसीय गहन जागरूकता अभियान अन्तर्गत देशभरका ४ सय ३९ जिल्लामा ‘बाल विवाह मुक्ति रथ’ परिचालन गरिएको हो। पूर्वी चम्पारणमा उक्त अभियानको सुरुवात सांसद डा. संजय जायसवाल, विधायक प्रमोद कुमार सिन्हा, रक्सौलका अनुमण्डल पदाधिकारी मनीष कुमार तथा अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्दलगायतका अधिकारीहरूले रथलाई हरियो झण्डा देखाएर गरेका थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला परियोजना समन्वयक आरती कुमारीले बाल विवाह सामाजिक कुप्रथा मात्र नभई कानुनी रूपमा दण्डनीय अपराध भएको बताइन्। उनले बाल विवाहले बालिकाको स्वास्थ्य, शिक्षा तथा भविष्यमा गम्भीर नकारात्मक प्रभाव पार्ने भएकाले यसको अन्त्यका लागि समाजका सबै तह र वर्गको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिन्।

 

अभियानलाई तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा विद्यालय तथा शैक्षिक संस्थाहरूमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। दोस्रो चरणमा धर्मगुरुहरूलाई विवाह अघि उमेरको प्रमाण जाँच गर्न र बाल विवाह नगर्न आग्रह गरिएको थियो। साथै विवाहमा सेवा प्रदान गर्ने क्याटरर, सजावट व्यवसायी, बैंक्वेट हल सञ्चालक, ब्यान्ड तथा घोडी सेवा प्रदायकहरूलाई पनि बाल विवाहमा सहयोग नगर्न अनुरोध गरिएको थियो।

 

तेस्रो चरण अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर समुदायलाई बाल विवाहसम्बन्धी कानुनी प्रावधान र यसको नकारात्मक असरबारे जानकारी गराउँदै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

 

कार्यक्रममा सामाजिक कार्यकर्ता राज गुप्ता, उमेश कुमार श्रीवास्तव, आशीष कुमार, अजय कुमार लगायतको पनि उपस्थिति रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित