निर्वाचनअघि प्रधानमन्त्री सुशीला कार्कीको आह्वान : उत्साहपूर्वक मतदान गर्न अपिल

 

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन्। फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै सोमबार विशेष सम्बोधनमार्फत उनले सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरिन्।

 

देश फेरि इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले मतदान केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्धारण गर्ने अवसर भएको बताइन्। “भोट हाल्नु भनेको केवल कसैलाई जिताएर पठाउनु मात्र होइन, यो तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,” उनले भनिन्।

 

जनआन्दोलनपछिको जटिल राजनीतिक अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्‍याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको उल्लेख गर्दै उनले अहिले विधिको शासन स्थापित हुँदै स्थिरताका साथ मुलुक अघि बढिरहेको बताइन्। यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम, सहकार्य र प्रतिबद्धताको परिणाम भएको उनको भनाइ छ।

 

निर्वाचनको संवेदनशील समयमा शान्ति र अमनचयन कायम राख्न उनले सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आग्रह गरिन्। स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि मनमुटाव र वैमनस्य स्वीकार्य नहुने उनको स्पष्ट धारणा थियो। “फागुन २१ गते बिहीबार अरू काम छाडेरै भए पनि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुहोस्,” उनले आग्रह गरिन्।

 

निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीको समन्वयमा स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिसकेको जानकारी पनि उनले दिइन्। प्रदेश र स्थानीय सरकारको सहयोगलाई समेत उनले महत्वपूर्ण मानेकी छन्।

 

साथै सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र कृत्रिम सामग्रीप्रति सचेत रहन नागरिकलाई आग्रह गर्दै प्रधानमन्त्रीले सत्यतथ्यमा आधारित सूचना मात्र विश्वास गर्न अपिल गरिन्।

होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साह बढाउने विश्वास व्यक्त गरिन्। कसैको इच्छाविपरीत रङ नलगाउन र संयमित रूपमा पर्व मनाउन पनि उनले अनुरोध गरिन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित