पर्सामा मदिरा व्यवसाय बन्दको निर्णयप्रति व्यवसायी संघको गम्भीर ध्यानाकर्षण

 

पर्सा, फाल्गुण १४— पर्सा जिल्ला प्रशासन कार्यालयले मिति २०८२ साल फाल्गुण १५ गतेदेखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री–वितरण बन्द गर्ने सूचना जारी गरेपछि व्यवसायीहरू आक्रोशित बनेका छन्। उक्त निर्णयप्रति पर्सा मदिरा व्यवसायी संघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले विज्ञप्ति जारी गर्दै अचानक गरिएको निर्णयले जिल्लाका सम्पूर्ण मदिरा व्यवसायीहरू चिन्तित र मर्माहत भएको उल्लेख गरेको छ। देशको वर्तमान आर्थिक अवस्थाका कारण व्यवसाय पहिले नै प्रभावित भइरहेको अवस्थामा यस्तो निर्णयले थप संकट सिर्जना गरेको संघको भनाइ छ।

 

संघका अनुसार मदिरा व्यवसाय राज्यलाई कर तिर्ने प्रमुख क्षेत्रमध्ये एक हो र वर्षौंदेखि व्यवसायीहरूले राजस्वमा महत्वपूर्ण योगदान गर्दै आएका छन्। तर यही क्षेत्रलाई लक्षित गरी गरिएको बन्दको निर्णयले व्यवसायीहरू गम्भीर आर्थिक समस्यामा पर्ने अवस्था आएको बताइएको छ।

 

विशेषगरी होली पर्व नजिकिँदै गर्दा गरिएको बन्दको निर्णयप्रति संघले असन्तुष्टि जनाएको छ। वर्षमा एकपटक आउने होलीजस्ता पर्वमा धेरैजसो व्यवसायीहरूले ठूलो कारोबार गर्ने अपेक्षा राख्ने गरेका हुन्छन्। यही अवसरलाई लक्षित गरी व्यवसायीहरूले बैंक, सहकारी तथा अन्य स्रोतबाट ऋण तथा कर्जा लिएर सामान खरिद गरी तयारी गर्ने गरेका छन्। यस्तो अवस्थामा होली आउनु एक हप्ता अघि नै पसल बन्द गर्ने निर्णय न्यायोचित नभएको संघको ठहर छ।

 

संघले प्रश्न उठाएको छ— यदि व्यवसाय सञ्चालन गर्न नदिने हो भने लिएको ऋण, बैंकको किस्ता, घरपरिवारको खर्च तथा राज्यलाई तिर्नुपर्ने कर कसरी तिर्ने ? यसको जिम्मेवारी कसले लिने ?

 

पर्सा मदिरा व्यवसायी संघ ले सम्बन्धित निकायसमक्ष उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्दै व्यवसायीहरूको लगानी, समस्या र वर्तमान परिस्थितिलाई मध्यनजर गरी उपयुक्त समाधान निकाल्न जोडदार माग गरेको छ।

साथै संघले सम्पूर्ण व्यवसायीहरूलाई संयमित र एकताबद्ध भई आफ्नो हक–अधिकारका लागि उभिन अपिल गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित