निर्वाचनलाई निष्पक्ष बनाउन कडा व्यवस्था: मदिरा बिक्री बन्ददेखि प्रचार रोकसम्म

 

काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

 

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित समितिको बैठकले निर्वाचन सुरक्षा योजनाअन्तर्गत उक्त निर्णय गरेको हो। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ। सोहीअनुसार मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको जनाइएको छ।

 

यसैगरी, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिने भएको छ। प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

 

जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका गतिविधि हुन नदिन विशेष निगरानी गर्न भनिएको छ। उल्लङ्घन भएको पाइएमा तत्काल कानुनी कारबाही गरी निर्वाचन आयोगलाई जानकारी गराउनसमेत निर्देशन दिइएको छ।

 

त्यसैगरी, मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ। उक्त व्यवस्था फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म लागू रहनेछ।

 

निर्वाचन आयोगले सुरक्षा अवस्थाको मूल्याङ्कन र सम्बन्धित निकायहरूको सिफारिसका आधारमा यी निर्णय कार्यान्वयनमा ल्याइएको जनाएको छ। आयोगले सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा आम मतदातालाई आचारसंहिता पालना गरी शान्तिपूर्ण र मर्यादित निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित