काठमाडौं: निर्वाचन प्रचार–प्रसारमा अवरोध सिर्जना गर्ने जो–कोहीलाई कडा कानुनी कारबाही हुने भएको छ। निर्वाचन आयोग ले फरक राजनीतिक दल वा उम्मेदवारको चुनावी गतिविधिमा बाधा पुर्याएमा रु. दुई लाखसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट गरेको छ।
आयोगका अनुसार संघीय कानुन बमोजिम निर्वाचनको प्रचार–प्रसार गर्न, उम्मेदवारी दिन वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले कसैले अवरोध गरे, गराए वा थुनछेक गरेमा कडा सजायको व्यवस्था रहेको छ। पछिल्लो समय प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी केही राजनीतिक दल तथा उम्मेदवारका प्रचार कार्यक्रमहरूमा अवरोध भएको गुनासो आयोगमा प्राप्त भएको जनाइएको छ।
आयोगले विभिन्न माध्यमबाट चुनावी गतिविधिको अनुगमन गरिरहेको उल्लेख गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्ने प्रयास आचारसंहिता विपरीत हुने चेतावनी दिएको छ। निर्वाचन आचारसंहितामा कुनै पनि दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिले अर्को पक्षको प्रचार–प्रसारमा बाधा पुर्याउन नपाइने स्पष्ट व्यवस्था छ।
निर्वाचन (कसूर तथा सजाय) ऐन अनुसार निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्नु दण्डनीय अपराध हो। आयोगले आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा आम नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
निर्वाचनसम्बन्धी प्रचलित कानुनको पालना गर्न र प्रचार–प्रसारमा कुनै पनि प्रकारको अवरोध नगर्न आयोगले सम्बन्धित सबै सरोकारवालासँग अनुरोध गरेको छ।









