काठमाडौँ । प्रेस काउन्सिल नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा आमसञ्चारमाध्यमलाई पूर्ण रूपमा निष्पक्ष, मर्यादित र उत्तरदायी बन्न कडा निर्देशन दिएको छ। निर्वाचनको अवधिमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पालना सुनिश्चित गर्न काउन्सिलले विशेष अनुगमन तीव्र बनाएको जनाएको छ।
काउन्सिलका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यमले ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’ तथा ‘सर्वेक्षण’ शीर्षकमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गर्दै मत सर्वेक्षणको शैलीमा सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका छन्। यस्ता सामग्रीले मतदाताको मनोभावनामा प्रभाव पार्ने तथा स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
“यो उम्मेदवारले जित्नेछन्”, “फलाना उम्मेदवार अगाडि छन्”, “नयाँ शक्तितिर आकर्षण बढ्दो”, “लहर छ/छैन”, “डेन्जर जोनमा” जस्ता अभिव्यक्तिसहितका समाचार तथा विश्लेषणले आममतदातालाई दिग्भ्रमित पार्ने जोखिम रहेको काउन्सिलको ठहर छ। आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई नोटिसमा राखिएको समेत काउन्सिलले स्पष्ट पारेको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहरा ले प्रेस स्वतन्त्रताको नाममा प्रकाशित सामग्रीले कसैलाई लाभ वा हानि पुग्न सक्ने भएकाले पत्रकारिता पेशामा आबद्ध सञ्चारमाध्यम र पत्रकार थप सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार निर्वाचनजस्तो संवेदनशील समयमा तटस्थता र सन्तुलन कायम गर्नु सञ्चार क्षेत्रको प्रमुख दायित्व हो।
निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायसँगै सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्दै मत प्रभावित हुने खालका सामग्री प्रकाशन तथा प्रसारण नगर्न/नगराउन काउन्सिलले पुनः ध्यानाकर्षण गराएको छ।









