प्रतिनिधिसभा निर्वाचन सुरक्षामा कडाइ : पर्साका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान हुँदै

 

हरिकिशोर शर्मा / फागुन ९ जिराभवानी पर्सा ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई अझ प्रभावकारी, भरपर्दो र प्रविधिमैत्री बनाउन जिल्लाभरका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ आधुनिक निगरानी प्रणाली विस्तार गर्न लागिएको प्रहरीले जनाएको छ।

 

कार्यालयका प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार मतदानस्थलहरूमा सिसी क्यामेरा जडान गरी २४सै घण्टा निरन्तर निगरानी गरिनेछ। उनले प्रविधिको प्रयोगबाट कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, अव्यवस्था वा निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई समयमै नियन्त्रण गर्न सहज हुने विश्वास व्यक्त गरे।

 

 

 

 

 

प्रहरी कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोडिसक्ने लक्ष्य राखेको छ। आवश्यक प्राविधिक तयारी, उपकरण जडान तथा परीक्षण कार्य तीव्र गतिमा अघि बढाइएको जनाइएको छ।

 

डिएसपी बस्नेतले सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियामा पारदर्शिता बढ्नुका साथै मतदातामा सुरक्षाको अनुभूति थप मजबुत हुने दाबी गरे। उनका अनुसार निर्वाचन अवधिभर पर्याप्त सुरक्षाकर्मी परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको छ।

 

यसैबीच, शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सबै सरोकारवाला पक्षलाई सहयोग गर्न प्रहरीले आग्रह गरेको छ। निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको विश्वसनीयता र गरिमालाई जोगाउन सबैको जिम्मेवार भूमिका आवश्यक रहेको कार्यालयले स्पष्ट पारेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित