काठमाडौँ ।फाल्गुण ७ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकका विद्यमान राष्ट्रिय समस्याहरूको समाधान बिना आसन्न निर्वाचन प्रक्रियामा जानु उपयुक्त नहुने निष्कर्ष निकालेको छ। पार्टीले राष्ट्रिय सहमति र व्यापक समझदारी कायम गरेर मात्र निर्वाचनतर्फ अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेको हो।

आज बसेको केन्द्रीय पदाधिकारी बैठकले देशको वर्तमान राजनीतिक अवस्था, आर्थिक चुनौती र सामाजिक असन्तुष्टिलाई मध्यनजर गर्दै निर्वाचनअघि साझा राष्ट्रिय एजेन्डा तय गर्न आवश्यक रहेको ठहर गरेको हो। बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले उनको निर्देशनमा वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकमा पूर्वअध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र कमल थापासहित काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा दिएको सन्देशप्रति स्वागत र समर्थन जनाएको जनाएको छ। राप्रपाले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय समस्याहरूको दीर्घकालीन समाधान सुनिश्चित नगरी निर्वाचनमा जाँदा भविष्यमा द्वन्द्व, अशान्ति र खिचातानी दोहोरिन सक्ने उल्लेख गरिएको छ।
पार्टीका अनुसार निर्वाचन प्रक्रियालाई सार्थक, परिणाममुखी र स्थिर बनाउनका लागि सबै राजनीतिक शक्तिहरूबीच सहमति, संवाद र साझा समझदारी अपरिहार्य छ। राप्रपाले आम जनताको चाहना पनि राष्ट्रिय सहमतिमार्फत स्थायित्व र सुशासन कायम गर्ने दिशातर्फ रहेको दाबी गरेको छ।
राप्रपाले आगामी दिनमा अन्य राजनीतिक दलहरूसँग छलफल र संवादलाई तीव्रता दिँदै राष्ट्रिय सहमतिको वातावरण निर्माणमा पहल गर्ने जनाएको छ।









