काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एजेण्डामा सहमति कायम नगरी निर्वाचन प्रक्रियातर्फ अघि बढ्न नहुने बताएका छन्। ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै उनले मुलुकको वर्तमान जटिल परिस्थितिलाई मध्यनजर गर्दै राजनीतिक दलहरूलाई न्यूनतम साझा कार्यक्रम तय गर्न आग्रह गरेका हुन्।
उनले प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन स्वाभाविक भए पनि अहिले देशको अवस्था असामान्य रहेको उल्लेख गरे। बढ्दो जनअसन्तुष्टि, आर्थिक संकट, सामाजिक अस्थिरता र राजनीतिक अविश्वास जस्ता समस्या समाधान नगरी चुनावमा केन्द्रित हुँदा दीर्घकालीन स्थायित्वमा असर पर्ने उनको धारणा छ।
शाहले आम नागरिकको चासो अहिले सत्ता परिवर्तनभन्दा पनि राष्ट्रिय समस्या समाधानतर्फ केन्द्रित रहेको दाबी गरे। त्यसैले सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षबीच संवाद, सहकार्य र समझदारीको वातावरण निर्माण गरी साझा राष्ट्रिय एजेण्डामा सहमति जुटाउनुपर्नेमा उनले जोड दिए।
निर्वाचनपछि पुनः द्वन्द्व र खिचातानीको अवस्था सिर्जना नहोस् भन्नका लागि पहिले नै विश्वासको आधार बलियो बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे। राष्ट्रिय एकता र साझा जिम्मेवारीको भावना स्थापित भएपछि मात्रै चुनावतर्फ अग्रसर हुँदा मुलुकले स्थायित्व र समृद्धिको दिशामा अघि बढ्न सक्ने विश्वास उनले व्यक्त गरेका छन।









