‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लक्ष्यसहित राप्रपाको घोषणापत्र, पर्सा–२ मा घरदैलो अभियान तीव्र

 

पवन प्रसाद साह/वीरगंज

 

पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका–१७ अलौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। अभियानका क्रममा उम्मेदवार बीना जैसवाल कुर्मीले पार्टीको घोषणापत्र र भावी योजना मतदातासमक्ष प्रस्तुत गरिन्।

 

राप्रपाले आफ्नो घोषणापत्रमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई अबको राष्ट्रिय गन्तव्यका रूपमा अघि सारेको छ। पार्टीका अनुसार यो अवधारणा मुलुकलाई स्थायित्व, सुशासन र आर्थिक समृद्धितर्फ अग्रसर गराउने दीर्घकालीन मार्गचित्र हो।

 

घोषणापत्रमा शासकीय स्वरूपबारे स्पष्ट दृष्टिकोण राख्दै अभिभावकीय संस्थाको रूपमा राजसंस्था आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, ‘प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना’ को प्रस्ताव पनि पार्टीले अघि सारेको छ। प्रशासनिक खर्च कटौती, सेवा प्रवाहमा प्रभावकारिता र स्रोत–साधनको समुचित उपयोगका लागि यस्तो संरचना आवश्यक रहेको दाबी गरिएको छ।

 

स्थानीय तहलाई दलगत प्रभावबाट मुक्त राख्दै गैरदलीय अवधारणाअनुसार सञ्चालन गर्ने प्रस्ताव पनि घोषणापत्रमा समेटिएको छ। त्यसैगरी जलस्रोत, पर्यटन, कृषि आधुनिकीकरण, सूचना–प्रविधि विस्तार, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

 

उम्मेदवार बीना जैसवाल कुर्मीले घरदैलोका क्रममा भनिन्, “हामी स्पष्ट एजेन्डा र राष्ट्रिय दृष्टिकोणसहित जनतामाझ आएका छौँ। पर्सा–२ को विकास, महिला सशक्तीकरण, युवा रोजगारी र सीमावर्ती क्षेत्रको आर्थिक सम्भावनाको उपयोग हाम्रो प्राथमिकता हो।”

घरदैलो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष शुमेश्वरनाथ उपाध्याय, राप्रपा अपाङ्ग संगठनका मधेश प्रदेश प्रमुख देवेन्द्र ढुङ्गा, राप्रपा मधेश प्रदेश कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, पार्टीका पूर्व केन्द्रीय सदस्य नगिना यादव, जिल्ला सचिव पन्नालाल पटेल, दिलिप गुप्ता, सह–सचिव पवन प्रसाद साह, वडा इकाइ अध्यक्ष छठु साह कानु, नेता शम्भु गिरी, बिसनु राम, परमानन्द साह कानु, शिवनारायण मिश्र, रामयोध्या पटेल,पार्टी मुस्लिम संगठनका केन्द्रीय सदस्य अमरहुसेन पवरिया लगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

 

उक्त उपस्थितिले पर्सा–२ मा राप्रपाको अभियानलाई थप बल पुगेको स्थानीय कार्यकर्ताहरूले बताएका छन्। पार्टीले आगामी दिनमा पनि घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित