मोतिहारी \ १ फाल्गुन
हिन्दी पत्रकारिता तथा दूरदर्शन (डीडी) को स्वर्णिम युगकी विश्वसनीय आवाज सरला माहेश्वरी अब हामीमाझ रहिनन्। उहाँको निधनले केवल एक वरिष्ठ पत्रकारको अवसान मात्र होइन, संयमित, शुद्ध भाषा र तथ्यनिष्ठ समाचार प्रस्तुतीकरणको युगको अन्त्य भएको अनुभूति गराएको छ।
उहाँको निधनको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक हुनासाथ भारतका अन्तर्राष्ट्रिय रूपमा परिचित पातकला कलाकार मधुरेन्द्र कुमार भावुक हुनुभयो। उहाँले आफ्नो विशिष्ट कलामार्फत श्रद्धाञ्जली अर्पण गर्दै अद्भुत कलाकृति तयार गर्नुभयो।
मधुरेन्द्रले करिब पाँच घण्टाको सूक्ष्म परिश्रमपछि केवल ३ सेन्टिमिटरको हरियो पीपलको पातमा सरला माहेश्वरीको सजीव र अत्यन्त सूक्ष्म आकृति कुँद्नुभयो। उक्त कलाकृतिसँगै उहाँले “अलविदा सरला माहेश्वरी” भन्ने भावपूर्ण शब्द लेख्नुभएको छ। यो अनौठो सिर्जना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ र धेरैले यसलाई भावभीनी श्रद्धाञ्जलीका रूपमा प्रशंसा गरेका छन्।
पत्रकारहरूसँगको कुराकानीमा मधुरेन्द्रले बाल्यकालमा सरला माहेश्वरी देशकै लोकप्रिय समाचार वाचिकामध्ये एक भएको स्मरण गर्नुभयो। उहाँले सौम्य, गरिमामय र विश्वसनीय शैलीमा समाचार प्रस्तुत गरी दर्शकहरूको विश्वास जित्नुभएको थियो। श्वेत–श्याम टेलिभिजनको समयमा पनि उहाँको प्रभावशाली प्रस्तुतीकरणले विशेष छाप छोडेको थियो।
सरला माहेश्वरी सन् १९७० को दशकदेखि २००५ सम्म पत्रकारितामा सक्रिय रहनुभएको थियो। त्यसबेला मानिसहरू समाचार सुन्न घरमै शान्त वातावरणमा बस्ने गर्थे। उहाँको प्रस्तुतीकरणमा उत्तेजना वा होहल्ला नभई समाज र सत्ताबीच सन्तुलित संवाद देखिन्थ्यो।
आज टेलिभिजन पत्रकारितामा टीआरपीको होड र कोलाहल बढेको आरोप लागिरहेका बेला सरला माहेश्वरीको कार्य झन् सान्दर्भिक देखिन्छ। सत्य, संयम र संवेदनशीलतामा आधारित उहाँको पत्रकारिता भावी पुस्ताका लागि मार्गदर्शक बन्नेछ। उहाँको निधनसँगै डीडीको स्वर्णिम अध्यायको एक युगको समापन भएको छ।









