वीरगंजमा बालेनको रोड शो: हजारौँ युवाको उत्साह, ‘अबकी बार बालेन सरकार’ को गुञ्जायमान नारा

 

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बुधबार वीरगंजमा भव्य रोड शो गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार सप्तरीबाट सुरु गरिएको चुनावी प्रचार अभियान बुधबार वीरगंजमा प्रभावकारी रूपमा अघि बढाइएको हो।

 

बालेनको रोड शो वीरगंजको प्रतिमा चोकबाट सुरु भई भानु चोक, नगवा, इनरवा, इदगाहा चोक, छपकैया,बिर्ता,आदर्शनगर, माईस्थान हुँदै घण्टाघर चोकमा पुगेर सम्पन्न भएको थियो। रोड शोका क्रममा हजारौँ युवायुवतीहरू सडकमा उपस्थित भई ‘अबकी बार बालेन सरकार’ र ‘जय घण्टी’ जस्ता नाराहरू लगाउँदै उत्साहजनक वातावरण सिर्जना गरेका थिए।

 

बालेनले गाडीबाटै समर्थकहरूलाई हात हल्लाउँदै र घण्टी बजाउँदै अभिवादन गरेका थिए। रोड शोमा रास्वपाबाट पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवारहरू— हरि पन्त, सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य— एउटै गाडीमा सहभागी थिए।

घण्टाघर चोकबाट रोड शो मुर्ली, पावर हाउस चोक र गण्डक चोक हुँदै बाराको जीतपुर–सिमरा तर्फ प्रस्थान गरेको जानकारी पर्सा–२ का उम्मेदवार सुशील साह कानुले दिएका छन्।

 

यस रोड शोले वीरगंजमा चुनावी माहोललाई थप तातो बनाएको मात्र होइन, युवापुस्तामा राजनीतिक चेतना, उत्साह र सक्रियता समेत बढाएको देखिएको छ। समर्थकहरूले बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने आशा व्यक्त गर्दै परिवर्तनको चाहना प्रकट गरेका छन्। यस अभियानले रास्वपाका उम्मेदवारहरूलाई स्थानीय मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित