काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा प्रसाईँलाई फरक विचार र मान्यताका कारण दुःख दिने तथा दबाउने उद्देश्यले पटक–पटक पक्राउ गरिएको आरोप लगाइएको छ। उनले राज्यको यस्तो व्यवहार अनुचित र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन्।
विज्ञप्तिमा नागरिकलाई स्वतन्त्र रूपमा हिँड्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध गर्न पाउने संविधानप्रदत्त अधिकार कुण्ठित गरिएको उल्लेख गरिएको छ। राप्रपाले सरकारसँग प्रसाईँलाई अविलम्ब र बिना सर्त रिहा गर्न जोडदार माग गरेको छ।









