रक्सौलमा ‘काली सेना’ गठन, पार्वती तिवारी राष्ट्रिय प्रमुख नियुक्त

 

रक्सौल। महिलाको सामाजिक, आर्थिक तथा शैक्षिक उत्थानलाई लक्ष्य गर्दै रक्सौलस्थित प्रसिद्ध काली मन्दिर परिसरमा शुक्रबार महिला संगठन ‘काली सेना’ गठन गरिएको छ। सयौं महिलाको सहभागिताले कार्यक्रमलाई ऐतिहासिक र प्रेरणादायी बनाएको थियो। कार्यक्रम काली मन्दिरका मुख्य पुजारी सेवक संजय नाथको मार्गदर्शनमा सम्पन्न भएको हो।

 

सेवक संजय नाथले काली सेना पूर्ण रूपमा महिलाद्वारा सञ्चालित संस्था हुने बताउँदै यसको मुख्य उद्देश्य महिलालाई सशक्त बनाउने, अधिकारप्रति सचेत गराउने तथा समाजमा विद्यमान लैङ्गिक भेदभाव, यौन हिंसा र अन्य अत्याचारविरुद्ध सशक्त आवाज उठाउने रहेको स्पष्ट गरे। संस्थाले शिक्षा, स्वास्थ्य, कानुनी सहायता, सुरक्षा तथा सीप विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने जनाइएको छ।

उनले काली ट्रस्टद्वारा सञ्चालित अस्पतालहरूमा काली सेनाका सदस्य महिलालाई उपचारमा ५० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे, जसले स्वास्थ्य सेवा थप सहज बनाउने अपेक्षा गरिएको छ।

 

कार्यक्रममा रक्सौल जिल्लाकी भाजपा महिला मोर्चाकी महासचिव पार्वती तिवारीलाई काली सेनाको राष्ट्रिय प्रमुख नियुक्त गरिएको थियो। आफ्नो मन्तव्यमा उनले महिलामा देवी काली र देवी दुर्गाको शक्ति रहेको उल्लेख गर्दै काली सेनाले महिलालाई आत्मविश्वास, आत्मनिर्भरता र नेतृत्व विकासको अवसर प्रदान गर्ने बताइन्।

 

उनले संगठनमार्फत महिलालाई घरेलु उद्योग, रोजगारी र आर्थिक सशक्तिकरणतर्फ प्रेरित गरिने जानकारी दिइन्।

कार्यक्रममा अन्य पदाधिकारीहरू पनि नियुक्त गरिएका छन्। पूर्णिमा देवी राष्ट्रिय सह–प्रमुख, रिंकु देवी सचिव, रामकाली देवी सह–सचिव, नीलू देवी संगठन सह–सचिव, आस्मा खातुन संगठन मन्त्री तथा पूजा देवी कोषाध्यक्ष नियुक्त भएकी छन्।

 

कार्यक्रमको अन्त्यमा सहभागी महिलाहरूले संस्थाको उद्देश्यप्रति समर्थन जनाउँदै यसलाई महिला सशक्तिकरणतर्फको महत्वपूर्ण पहलको रूपमा स्वागत गरे। यस अवसरमा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा सामाजिक कार्यकर्ता लायन बिमल सराफले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै सामाजिक कार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित