कालिकामाई गा.पाका स्वास्थ्य शाखा प्रमुख चौरसियाको राजीनामा, राजनीतिमा सक्रिय हुने तयारी

 

 

प्रदिप कुशवाहा

 

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा लामो समयदेखि स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्य शाखा प्रमुख योगेन्द्र प्रसाद चौरसियाले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । करिब नौ वर्षको सेवा अवधि बाँकी रहँदै उनले राजनीतिक तथा सामाजिक सेवामा सक्रिय हुने उद्देश्यसहित पद त्याग गरेको बुझिएको छ ।

 

विश्वसनीय स्रोतका अनुसार, जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव हासिल गर्दै स्थानीय जनतासँग घनिष्ठ सम्बन्ध बनाउँदै आएका चौरसियाले अब आफ्नो समय जनसेवा र राजनीतिक यात्रामा समर्पित गर्ने निर्णय गरेका हुन् । उनको राजीनामालाई स्थानीय राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

 

स्वास्थ्य क्षेत्रमार्फत जनविश्वास आर्जन गर्न सफल चौरसियाले राजनीतिमा प्रवेश गरेर सेवा विस्तार गर्ने चाहना व्यक्त गरेका छन् । स्रोतका अनुसार, आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गाउँपालिका अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा अघि बढ्न सक्ने चर्चा सुरु भएको छ ।

 

हाल चौरसिया पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’लाई समर्थन गर्दै संगठन विस्तार, जनभेटघाट तथा राजनीतिक छलफल कार्यक्रममा सक्रिय देखिएका छन् ।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, उनको प्रशासनिक अनुभव, स्वास्थ्य क्षेत्रको पृष्ठभूमि तथा सशक्त जनसम्पर्क क्षमताले आगामी राजनीतिक यात्रामा बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित