काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएपछि काठमाडौं उपत्यकासहित देशका धेरै भू–भागमा वर्षा र हिमपात भएको छ । आज अपराह्न काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा २.२ मिलिमिटर तथा ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कर्णाली प्रदेशको सुर्खेतमा ४३ मिलिमिटर भएको छ, जुन झण्डै भारी वर्षाको नजिक मानिन्छ । यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ ।
बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरामा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा मापन गरिएको छ । यी क्षेत्रहरूमा मध्यम खालको वर्षा भएको विभागले जनाएको छ । साथै पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागमा उल्लेख्य हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
विभागको अभिलेखअनुसार बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा वर्षा भएको छ भने करिब १०० वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिमिटर वर्षा दर्ता भएको छ, जसलाई हल्कादेखि मध्यम वर्षाका रूपमा वर्गीकरण गरिएको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको छ । तराई र कोशी प्रदेशमा भने तुलनात्मक रूपमा कम वर्षा हुने देखिएको छ । पछिल्लो एक घण्टामा गण्डकी र बागमती प्रदेशका केही जिल्लामा भने वर्षाको मात्रा बढेको छ ।
विभागका अनुसार आज रातिदेखि मौसम प्रणाली कमजोर हुँदै जानेछ र क्रमशः मौसम खुल्नेछ । तर चिसो भने अझै बढ्ने र केही दिन आंशिक बदली रहने सम्भावना रहेको छ ।
आज राति देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
भोलि बिहीबार तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले बताएका छन् ।









