वीरगंज, १२ माघ
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभाग तथा वीरगंज भन्सार कार्यालयको आयोजनामा वीरगञ्जमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वीरगंज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीको नेतृत्वमा आयोजित उक्त प्रभातफेरी भन्सार कार्यालय परिसरबाट सुरु भई वीरगञ्जस्थित मितेरी पुलसम्म पुगेको थियो। त्यसपछि प्रभातफेरी पुनः भन्सार कार्यालयमै आएर समापन गरिएको थियो।

प्रभातफेरी कार्यक्रममा वीरगंज भन्सार कार्यालयका कर्मचारी तथा प्रतिनिधिहरू, किलियरिङ एजेन्ट संघका सदस्यहरू, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत भन्सार प्रशासनको भूमिका, राजस्व संकलनमा भन्सारको योगदान, व्यापार सहजीकरण तथा मुलुकको आर्थिक विकासमा भन्सारको महत्वबारे आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय भन्सार दिवस विश्वभर प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाइने गरिन्छ। यस दिवसले भन्सार प्रशासनलाई अझ आधुनिक, पारदर्शी र प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।









