स्थानीय समस्या समाधान नै मेरो पहिलो प्राथमिकता हो : उम्मेदवार अनिल रुंगटा

 

 

अजय कुमार साह

वीरगंज–३१ बेल्वामा नेपाली कांग्रेस क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार अनिल रुंगटाले रात्रीकालीन भेटघाट तथा राजनीतिक छलफल कार्यक्रममार्फत स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। वडा इकाइ कमिटीका पदाधिकारी, समाजसेवी तथा स्थानीय अगुवाहरूसँग सम्पन्न छलफलमा बेल्वाका बासिन्दाहरूले भौतिक पूर्वाधार, सडक निर्माण, प्रहरी चौकीको अभाव, सार्वजनिक जग्गा–जमिन संरक्षण तथा कृषि सम्बन्धी विविध समस्याबारे गुनासो राखेका थिए।

 

वडा इकाइ सभापति अनिरुद्ध प्रसाद थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उम्मेदवार रुंगटाले स्थानीय जनताका कुरा ध्यानपूर्वक सुन्दै ती समस्याहरू दीर्घकालीन रूपमा समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या बुझेर व्यवहारिक, प्रभावकारी र दिगो समाधान खोज्नु नै आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे। उनले विकास केवल भाषणमा सीमित नभई स्थानीय आवश्यकता अनुसार योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

उम्मेदवार रुंगटाले भने,“स्थानीयवासीहरूले उठाएका सडक, सुरक्षा, सार्वजनिक सम्पत्ति र कृषि सम्बन्धी गुनासोहरू गम्भीर छन्। यी समस्या समाधानका लागि संघीय तहबाट आवश्यक पहल, सम्बन्धित निकायसँग समन्वय र जनताको सहभागितामा योजनाबद्ध ढंगले अघि बढ्नेछु। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”

 

छलफल कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, विजय सर्राफ, अरबिन्द गुप्ता, किरण सरकारलगायत स्थानीय नेता, जनप्रतिनिधि, समाजसेवी तथा युवा अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्थानीय विकास, संगठन सुदृढीकरण र जनअपेक्षालाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

 

कार्यक्रमले स्थानीय तहका समस्या उजागर गर्नुका साथै समाधानका लागि साझा प्रतिबद्धता जनाउने महत्वपूर्ण अवसर बनेको सहभागीहरूले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित