अभिलाष गुप्त
वीरगंज, ०९ माघ
वीरगंज युवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ जिल्ला उर्लाबारी नगरपालिका–८ अठीयाबारी निवासी क्यान्सर पीडित बीरबहादुर धिमाललाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। विगत केही समयदेखि आन्द्राको क्यान्सरबाट पीडित धिमालको उपचारमा सहयोग पुर्याउने उद्देश्यले समाजले उक्त सहयोग उपलब्ध गराएको हो।
वीरगंज युवा समाजका अध्यक्ष संजीव थापा, रकम संकलन संयोजक बिनोद धिमाल तथा सदस्यहरू रोशन गुप्ता, मनोज गुप्ता र सुशील सिंह सहितको टोलीले भरतपुर महानगरपालिका–७ स्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेर क्यान्सर पीडित धिमाललाई नगद रु. ५५,०००/- (पचपन्न हजार रुपैयाँ) हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष थापाले उपचार अभावका कारण आर्थिक संकट झेलिरहेका पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले यो सानो प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो सानो प्रयासले कसैको ज्यान जोगिन्छ भने त्यही नै सबैभन्दा ठूलो धर्म हो।” साथै आगामी दिनहरूमा पनि असहाय तथा विपन्न वर्गका लागि समाजको अभियान निरन्तर जारी रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। “वीरगञ्ज युवा समाज केवल उत्सव र कार्यक्रमहरूमा मात्र नभई विपद्, रोग र संकटका समयमा पनि समाजसँगै उभिनेछ,” उहाँले थप्नुभयो।
कार्यक्रम संयोजक बिनोद धिमालले “सेवा नै धर्म हो” भन्ने भावनालाई आत्मसाथ गर्दै सहयोगमा सहभागी सम्पूर्ण हातहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका पीडित परिवारले वीरगञ्ज युवा समाजले मृत्युसँग संघर्ष गरिरहेका एक क्यान्सर पीडितका लागि आशाको किरण बनेर सहयोग गरेकोमा आभार प्रकट गरेका छन्। साथै सम्भव भएसम्म सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिलसमेत गरेका छन्।









