शंकरलाल केडिया स्मृति फुटबल: मुनलाइट र लिटिल फ्लावर फाइनलमा

 

अभिलाष गुप्ता

वीरगञ्ज, ०८ माघ

डी.ए.भी. आर.बी. केडिया विद्यालयको आयोजनामा सञ्चालन भइरहेको श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक र उत्साहपूर्ण खेलहरूबीच मुनलाइट सेकेन्डरी स्कूल र लिटिल फ्लावर स्कूल फाइनलमा प्रवेश गरेका छन्।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मुनलाइट सेकेन्डरी स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै साउथजोन सेकेन्डरी स्कूललाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको मुनलाइटले विपक्षीलाई निरन्तर दबाबमा राख्दै खेल आफ्नो पक्षमा पारेको हो। उक्त खेलमा मुनलाइटका लव गोसाई प्रभावशाली प्रदर्शनका आधारमा म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर स्कूलले मानकामना स्कूललाई ३–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। खेलभरि सन्तुलित र संयमित खेल प्रस्तुत गरेको लिटिल फ्लावरले निर्णायक क्षणहरूमा गोल गर्दै जित सुनिश्चित गरेको हो। यस खेलमा लिटिल फ्लावरका सागर साह म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल अब मुनलाइट सेकेन्डरी स्कूल र लिटिल फ्लावर स्कूलबीच आगामी शनिबार दिउँसो १ बजे सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले जानकारी दिए। फाइनल खेललाई लिएर विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरूबीच विशेष उत्साह देखिएको छ।

विद्यालयस्तरमा फुटबलको प्रवर्द्धन, विद्यार्थीहरूमा खेलकुद भावना विकास तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित