काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई औपचारिक रूपमा सरकारको प्रवक्ता तोकेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफूलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी गराए। सरकारका निर्णय तथा गतिविधिबारे जनतालाई जानकारी गराउने दायित्व अब आफूले निर्वाह गर्ने उनले बताए।
यसअघि सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएर आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरेपछि उक्त पद रिक्त रहेको थियो। प्रवक्ता पद रिक्त भएपछि मन्त्रिपरिषद् बैठकमार्फत गृहमन्त्री अर्याललाई जिम्मेवारी सुम्पिएको हो।
सरकारले प्रवक्ता नियुक्त गरेसँगै अब सरकारका निर्णय तथा नीति कार्यक्रमबारे नियमित रूपमा जानकारी प्रवाह हुने विश्वास गरिएको छ।









