गौतम समाज कल्याण संस्था र गौतम सेकेन्ड्री स्कूलद्वारा २० थान डबल बेड हस्तान्तरण

 

अभिलाष गुप्ता

वीरगन्ज, ०७ माघ

गौतम समाज कल्याण संस्था तथा गौतम सेकेन्ड्री स्कूल, श्रीपुर, वीरगन्ज–१३, पर्साको पहलमा सामाजिक उत्तरदायित्व अन्तर्गत २० थान डबल बेड हस्तान्तरण गरिएको छ।

 

गौतम समाज कल्याण संस्थाका अध्यक्ष गनेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संस्थालाई डबल बेड हस्तान्तरण गरिएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्ता लगायत अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

हस्तान्तरण कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिका–२, छपकैया स्थित यतीमखाना दारूल यतामा इस्लामिया लाई १५ थान डबल बेड प्रदान गरिएको छ। त्यसैगरी, वीरगन्ज बिर्ता स्थित त्रिजुद्ध स्कूलमा आवासीय रूपमा सञ्चालित दृष्टिविहीन बालबालिकाहरू का लागि ५ थान डबल बेड हस्तान्तरण गरिएको हो।

 

कार्यक्रममा बोल्दै गौतम समाज कल्याण संस्थाका सचिव रमेश शर्माले संस्था तथा विद्यालय सामाजिक सेवाको भावनाबाट प्रेरित भई निरन्तर सहयोग कार्यमा सक्रिय रहेको बताए। उनले असहाय, अनाथ तथा विशेष आवश्यकता भएका बालबालिकाहरूको जीवनलाई सहज बनाउने उद्देश्यले सहयोग गरिएको स्पष्ट पार्दै आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई लक्षित गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने योजना रहेको जानकारी दिए।

 

कार्यक्रममा सहयोग प्राप्त संस्थाका प्रतिनिधिहरूले गौतम समाज कल्याण संस्था तथा गौतम सेकेन्ड्री स्कूलप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले आश्रित बालबालिकाहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित