राजीनामा दिएर संघीय संसद्‌को दौडमा स्थानीय जनप्रतिनिधि

 

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै देशभरका स्थानीय तहका जनप्रतिनिधिहरू संघीय संसद्‌को दौडमा उत्रिएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरूले पदबाट राजीनामा दिँदै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्।

 

यसक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन्। दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको प्रमुख निर्वाचित भएका साह हाल राष्ट्रिय राजनीतिमा सक्रिय भएका छन्। सोही निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेकाले यो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ।

 

त्यस्तै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि पदबाट राजीनामा दिँदै चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी छिन्। दुई कार्यकालसम्म भरतपुर महानगरको नेतृत्व गरिसकेकी दाहाललाई नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको हो।

 

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिँदै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन्। विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। उनीसँगै धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष मनोज भट्टराईले पनि पदबाट राजीनामा दिँदै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। विसं २०७४ र २०७९ मा लगातार दुई पटक वडाध्यक्ष निर्वाचित भएका भट्टराई नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका हुन्।

 

गाउँपालिका तहका जनप्रतिनिधिहरू पनि संघीय संसद्‌को दौडमा छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन्। उनलाई नेकपा (एमाले) ले उम्मेदवार बनाएको हो। त्यस्तै ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएकी छिन्।

 

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।

स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएका छन्। वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानु राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् भने वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर (पराग) सिंह उज्यालो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।

 

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता प्रक्रिया तीव्र भइरहेका बेला स्थानीय तहमा छोटो समयमै नेतृत्व सम्हालेका जनप्रतिनिधिहरू संघीय संसद्‌मार्फत सिधै सिंहदरबार पुग्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन्। यसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने देखिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित