नवदिप एकेडेमीले मनायो १३औँ वार्षिक उत्सव

 

अभिलाष गुप्ता

वीरगञ्ज, ०३ माघ

वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नवदिप एकेडेमी स्कुलले आफ्नो १३औँ वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। विद्यालय परिसरमा आयोजित उत्सवमा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

 

कार्यक्रम नवदिप एकेडेमी स्कुलकी सञ्चालिका तथा प्रिन्सिपल सुशीला शाहको सभापतित्व तथा प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वार्षिक उत्सवका अवसरमा आयोजना गरिएका सांस्कृतिक तथा खेलकुद गतिविधिले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गरेको बताउनुभयो। उहाँले नवदिप एकेडेमीले पठनपाठनसँगै खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय प्रगति गर्दै आएको उल्लेख गर्नुभयो।

 

उहाँका अनुसार वर्षभरि सञ्चालन गरिने शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूको प्रतिफल वार्षिक उत्सवमार्फत अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले आफ्ना बालबालिका कस्तो वातावरणमा अध्ययन गरिरहेका छन् भन्ने बुझ्न सहज हुने गर्दछ।

कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामाले अभिभावकहरूलाई बालबालिकाको अत्यधिक मोबाइल प्रयोगप्रति सचेत रहन आग्रह गर्नुभयो। उहाँले मोबाइलको अत्यधिक प्रयोगले विद्यार्थीको अध्ययन तथा मानसिक विकासमा नकारात्मक असर पार्ने भन्दै सन्तुलित प्रयोगमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

त्यसैगरी कार्यक्रममा प्याप्सन जिल्ला सदस्य मञ्जु रानाभाट, लायन्स क्लबका बासु तिमल्सिना, श्याम गुप्ता तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासको प्रशंसा गर्दै आ–आफ्ना विचार राख्नुभएको थियो।

 

उत्सवका अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शक तथा अभिभावकहरूको मन जितेका थिए। कार्यक्रमको सहजीकरण नयाँ अग्रवाल र सौरुपा पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो।

समग्रमा, १३औँ वार्षिक उत्सवले नवदिप एकेडेमी स्कुलको शैक्षिक गुणस्तर, अनुशासन र बहुआयामिक विकासलाई स्पष्ट रूपमा उजागर गरेको सहभागी अभिभावक तथा अतिथिहरूले प्रतिक्रिया दिएका छन्।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित