वीरगंजमा शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता सुरु

अभिलाष गुप्ता

वीरगंज, ०२ माघ

विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्ने उद्देश्यसहित डी.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जले “शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०२६” को चौथो संस्करण आयोजना गरेको छ।

 

स्वर्गीय शंकरलाल केडियाको ९०औँ जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन शुक्रबार विद्यालयको खेलमैदानमा सशस्त्र प्रहरीका डिएसपी बिष्णुहरि घिमिरेले गर्नुभएको हो।

उद्घाटन समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनील केडियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न शैक्षिक संस्था, स्थानीय तह, प्याप्सन, पर्सा फुटबल संघ तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल राकेश मिश्रले गर्नुभएको थियो भने सञ्चालन मेघा दाधीचले गर्नुभएको थियो। प्रतियोगिताको संयोजक उपेन्द्र पटेल रहनुभएको विद्यालय प्रशासनले जनाएको छ।

 

प्रिन्सिपल मिश्रका अनुसार प्रतियोगिता माघ २ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थी टोलीहरूले सहभागिता जनाएका छन्। खेलहरू प्रत्येक दिन दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

 

उहाँले शिक्षासँगै खेलकुदको महत्व उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिताले नयाँ तथा प्रतिभावान खेलाडीको पहिचान र फुटबल खेलको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय प्रशासनले खेलप्रेमी विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित