वीरगंज/ १ माघ
माघे संक्रान्तिको पावन अवसरमा हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित ‘समरसता उत्सव’ वीरगंजस्थित पर्सा जिल्लाको ऐतिहासिक गहवामाई मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार उक्त कार्यक्रम २०८२ साल माघ १ गते सम्पन्न भएको हो।
समाजमा समता, ममता र समरसताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समाजका विभिन्न वर्ग, समुदाय तथा क्षेत्रका नागरिकहरूको उल्लेखनीय र समान सहभागिता रहेको विश्व हिन्दु परिषद नेपाल पर्साका सचिव दिपेन्द्र सर्फले जानकारी दिनुभयो।

कार्यक्रमको शुभारम्भ विश्व हिन्दु परिषद नेपालका विशिष्ट व्यक्तित्वहरूद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। ‘संगठित हिन्दु, समर्थ नेपाल’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना गरिएको यस उत्सवले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतालाई थप मजबुत बनाउने लक्ष्य लिएको आयोजकले बताएका छन्।
समरसता उत्सवको अवसरमा महाप्रसाद (खिचडी) पर्व समेत आयोजना गरिएको थियो। सहभागी सबैले एउटै स्थानमा बसेर सामूहिक रूपमा महाप्रसाद ग्रहण गर्दै आपसी आत्मीयता, भाइचारा र समभावको अनुभूति गरेका थिए। यसले समाजमा विद्यमान विभेद, असमानता र दूरी कम गरी एकताको भावना सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका सदस्यहरूद्वारा परेड, धार्मिक अनुष्ठान, सांस्कृतिक झल्को प्रस्तुत गर्ने कार्यक्रमहरू तथा समरसताको सन्देशमूलक विभिन्न गतिविधिहरू प्रस्तुत गरिएको थियो।
हिन्दु स्वयंसेवक संघ नेपालले यस्ता कार्यक्रममार्फत समरस, सशक्त र संगठित समाज निर्माणका लागि सम्पूर्ण धर्मावलम्बी, सामाजिक अभियन्ता, युवा तथा आम नागरिकलाई हातेमालो गर्न आह्वान समेत गरेको छ।









