काठमाडौं: राष्ट्रिय लिग फुटबल आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटनमा आज काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । आजै श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । तीन वर्षसम्म शीर्ष श्रेणीको शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसक्दा आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक राष्ट्रिय लिग गर्न लागेको हो ।
हिमालय शेर्पा क्लब बाहेक ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट कपका ४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । विभागीय क्लबहरु, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपिएफसहित केहि क्लबले मात्र लामो समय तयारी गरिरहेका छन् । सुरुमा ‘ए’ डिभिजनका शीर्ष ६ टोली र एन्फा प्रेसिडेन्ट लिगका ४ टोली सहभागी हुने बताए पनि पछि ‘ए’ डिभिजनका सबै क्लबलाई सहभागीताका लागि खुल्ला गरिएको थियो ।
त्यसमा हिमालय शेर्पा बाहेक सबै टोलीले खेल्ने भएका छन् । प्रेसिडेन्ट लिगका सेमिफाइनलिष्ट बन्दै लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काँक्रेविहार स्पोर्टस क्लब लिगका लागि छानिए । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछन् । राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले २५ लाख र तेस्रो हुनेले १५ लाख पाउनेछन् । यसअघि, पहिलो संस्करण पुलिस क्लब र दोस्रो संस्करण थ्रीस्टार क्लबले यो लिग जितेका थिए ।
सभार:- अखबार नेपाल









