पौष २१, वीरगन्ज
सार्क जर्नलिस्ट फोरम इंडिया च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेको संयुक्त आयोजनामा दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। भने सम्मेलनमा मधेश प्रदेशबाट ६ जना पत्रकारहरू अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्।
पौष २० र २१ गते आयोजित उक्त कार्यक्रममा मधेशका ६ जना पत्रकारहरू सदाब मलिक, दिपेन्द्र प्रजापति, अभिलाष गुप्ता, सैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम सम्मानित भएका हुन्। उनीहरूको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
सम्मेलनमा आधा दर्जन पद्मश्री सम्मानित व्यक्तित्वहरू सहित पत्रकार, चिकित्सक, खेलाडी, शिक्षक, व्यवसायी, समाजसेवी, साहित्यकार, लेखक तथा अनुसन्धान विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विशिष्ट व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको थियो। साथै भारतका विभिन्न राज्यहरूबाट आएका प्रतिनिधि, पद्मश्री सम्मानित व्यक्तित्व तथा कुलपति गरी करिब २०० प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए।
सम्मेलनको पहिलो दिन (पौष २० गते) उद्घाटन सत्रसहित तीनवटा शैक्षिक सत्र सञ्चालन गरिएको थियो। सत्रहरूमा मातृभाषामा आधारित खुला सत्र विशेष आकर्षणका रूपमा रहेको थियो, जहाँ पत्रकार, साहित्यकार, कवि तथा शिक्षकहरूले आफ्ना विचार तथा कविता आ–आफ्नो मातृभाषामा प्रस्तुत गरेका थिए।सन्ध्यामा लोकगीत तथा लोकनृत्यमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसले सम्मेलनलाई थप आकर्षक बनाएको थियो।
दोस्रो दिन (पौष २१ गते) सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो। यस क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो।कार्यक्रमबारे जानकारी दिँदै सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको बताए। यसअघि विगत तीन वर्षभित्र वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका मुख्य अतिथि पूर्व सिक्किम राज्यपाल माननीय गंगा प्रसाद रहनुभएको थियो। भने सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धूकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय सहभागिता, मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित यस सम्मेलनले नेपाल–भारतसहित विभिन्न देशबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।









