पर्सामा १० लाखभन्दा बढी नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ

 

 

 

 

 

पर्सा । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको जगरनाथपुर क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ।

 

पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ देवरवाना बस्ने २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको कुल १० लाख २ हजार १० रुपैयाँ नगद बरामद गरिएको हो।

 

प्रहरीले उनीहरूले प्रयोग गर्दै आएको ना. १६ प ३०२० नम्बरको स्प्लेन्डर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ। तीनै जनालाई शुक्रबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ३ गडैयाटोलस्थित सडकखण्डबाट शंकास्पद अवस्थामा पक्राउ गरिएको हो।

 

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त रकम अवैध हुण्डी कारोबारका लागि बोकेको खुलेको प्रहरीको निष्कर्ष छ। पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

 

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

 

पछिल्लो समय पर्सा जिल्लामा अवैध वित्तीय कारोबार, हुण्डी तथा गैरकानुनी नगद ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित