प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको फाइनल सम्पन्न

 

 

अभिलाष गुप्ता

वीरगञ्ज /१५ पौष

 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको फाइनल खेल मंगलबार सम्पन्न भएको छ।

 

आदर्शनगरस्थित रंगशालामा सम्पन्न प्रतियोगितामा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए। फाइनल खेल अन्तर्गत जुनियर बोयजतर्फ ब्लु हेभन स्कूलले साउथ जोन स्कूललाई पराजित गर्दै यस वर्षको उपाधि जित्न सफल भयो भने साउथ जोन स्कूल उपविजेतामा सीमित रह्यो। त्यस्तै गल्र्सतर्फ लिटिल फ्लावर एकेडेमी स्कूलले नेशनल एकेडेमी स्कूललाई हराउँदै च्याम्पियन बन्न सफल भयो, जहाँ नेशनल एकेडेमी उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रिति साहनी ‘म्यान अफ द म्याच’ घोषित भइन्। गल्र्सतर्फ साउथ जोन माध्यमिक विद्यालय र जुनियर बोयजतर्फ मनकामना सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गरेका थिए।

विजेता तथा उपविजेता विद्यालयहरूलाई प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो। सो अवसरमा प्रमुख अतिथि लामिछानेले शिक्षा मात्र नभई खेलकुद क्षेत्र पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। खेलकुद गतिविधि सञ्चालनमा केही चुनौती भए पनि आगामी दिनमा महानगरपालिकाले आवश्यक तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो।

 

खेलकुदले व्यक्तिगत विकाससँगै समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सकारात्मक योगदान पुर्‍याउने उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई खेलकुदप्रति सक्रिय हुन प्रेरित गर्नुभयो।प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्याब्सन मधेस प्रदेश सल्लाहकार मनि पाख्रिङ, लालबाबु पटेल, प्याब्सन जिल्ला अध्यक्ष स्वरूप प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बल तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको स्वागत मन्तव्य प्याब्सन वीरगञ्ज नगर उपाध्यक्ष शर्मानन्द कुशवाहाले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नगर सचिव अमित आलोकले गर्नुभएको थियो। सो अवसरमा सचिव आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

सम्बन्धित