रास्वपा–बालेनबीच मध्यराति ७ बुँदे सहमति

काठमाडौं — लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच ७ बुँदे सहमति भएको दाबी गरिएको छ। मध्यराति भएको भनिएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवार बनाइने उल्लेख छ।

 

दाबीअनुसार सार्वजनिक गरिएको सहमतिका बुँदामा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले थालेको आन्दोलनको अपनत्व लिने, घाइते तथा शहीद परिवारका मागहरूको उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनमा समर्पित हुने भनिएको छ।

सहमति अनुसार बृहत् एकतापछि स्थापित हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, दलको झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने र चुनाव चिन्ह ‘घण्टी’ कायम रहने उल्लेख छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने भनिएको छ।

 

यस्तै, रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको छ। संगठनात्मक संरचना विस्तार गर्दा युवा अभियन्ता र अनुभवी विज्ञहरूको समुचित समायोजन गर्दै योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने बताइएको छ।

 

सहमति कार्यान्वयनका लागि निर्वाचन लगत्तै पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने र लोकतान्त्रिक सुशासन, समुन्नति तथा सामाजिक न्यायका मुद्दामा अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई ‘घण्टी’ चिन्हमा गोलबद्ध हुन आह्वान गर्ने बुँदा पनि समावेश छन्।

तर, यस विषयमा रास्वपा वा बालेन शाहको तर्फबाट आधिकारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित