वीरगंज। बालुवाका कणहरूमा सामाजिक चेतना,राष्ट्रप्रेम र संस्कृतिको कथा उकेर्ने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बालुवा कलाकार मधुरेन्द्र कुमारलाई उनको विशिष्ट कलात्मक योगदानको कदरस्वरूप डा. बी. आर. अम्बेडकर राष्ट्रिय सम्मान–२०२५ प्रदान गरिएको छ। यो सम्मान ग्लोबल आइकन अफ इन्डिया ई–म्यागजिनद्वारा कला तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय उपलब्धिका लागि प्रदान गरिएको हो।
सम्मान प्रमाणपत्र नम्बर GII/DRBARS/2025/92 अन्तर्गत औपचारिक सूचना ईमेलमार्फत दिइएको थियो। त्यसपछि डाकमार्फत प्रशंसा पत्र, सम्मान पदक तथा स्मृति चिन्ह पठाई उनलाई सन् २०२५ को डा. भीमराव अम्बेडकर राष्ट्रिय सम्मानबाट विधिवत् सम्मानित गरिएको हो।
अन्तर्राष्ट्रिय मञ्चहरूमा बिहार र भारतको सांस्कृतिक पहिचानलाई सशक्त बनाउँदै आएका मधुरेन्द्र कुमारले आफ्नो बालुवा कलामार्फत स्वच्छता अभियान, वातावरण संरक्षण, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा महान व्यक्तित्वहरूमा आधारित हजारौँ कृतिहरू सिर्जना गरेका छन्, जसलाई देश–विदेशमा उच्च प्रशंसा प्राप्त भएको छ।
उल्लेखनीय रूपमा, हालै डिसेम्बर २१ मा नालन्दा जिल्लामा आयोजित तीनदिने राजगीर महोत्सवको समापन अवसरमा उनकी विशेष बालुवा कलाकृतिको सराहना गर्दै बिहार सरकारका पर्यटन मन्त्री अरुण शंकर प्रसाद, ग्रामीण विकास मन्त्री श्रवण कुमार तथा नालन्दाका जिलाधिकारी कुन्दन कुमारले मुख्य मञ्चबाट उनलाई सम्मानित गरेका थिए।
डा. भीमराव अम्बेडकर राष्ट्रिय सम्मान प्राप्त हुनु मधुरेन्द्र कुमारको निरन्तर साधना, सृजनात्मक दृष्टि र कलाप्रतिको समर्पणको प्रमाण हो। यस उपलब्धिप्रति कला जगत, सामाजिक सङ्गठनहरू तथा उनका प्रशंसकहरूले हर्ष व्यक्त गर्दै यसलाई बिहारसहित सम्पूर्ण देशका लागि गर्वको विषय बताएका छन्।









